भक्तपुरको आगलागीमा परी एकैघरका तीन जनाको मृत्यु
भक्तपुर, पुस २२ – भक्तपुर नगरपालिका वडा नम्बर १ सुर्यमढी तौलाछेमा शनिबार राती आगलागीमा परी एकैघरका तीन जनाको ज्यान गएको छ । राती १२ बजेतिर पूर्णभक्त प्रजापतिको घरमा आगलागी हुँदा जलेर उहाँकी श्रीमती ६४ वर्षीया लक्ष्मीकेशरी तथा छोरीहरु ३९ वर्षीया पार्वती र २६ वर्षीया सजना प्रजापतिको ज्यान गएको प्रहरीले जनाएको छ ।
पूर्णभक्त र कान्छी छोरी सृजना भने आगो लागेको थाहा पाएर बाहिर निस्कन सफल भएका थिए । चौथो तल्लामा सुतेका छोरीहरुलाई उठाउँन जाँदा आमा लक्ष्मी केशरी समेत जलेको स्थानीय बासिन्दाले बताएका छन् ।
राती १२ बजे लागेको आगो भक्तपुर, काठमाडौं, ललितपुर र प्रहरीको सातवटा दमकल, भक्तपुर र ठिमीका प्रहरी, दुवाकोटका शसस्त्र प्रहरी र स्थानिय बासिन्दाको प्रयासमा बिहान झण्डै ३ बजेमात्र आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रजापतिको घरमा हिजो भोज रहेकाले राती अबेर सम्म खानपीन चलेको र तेश्रो तलामा बालिएको आगो ननिभाई सुत्दा त्यसैबाट आगलागी भएको प्रहरीको अनुमान छ । चौथो तल्लामा पराल, छवाली लगायतका सामानहरु रहेकाले पनि छिटो आगो सल्किएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक दिलिपकुमार चौधरीले जानकारी दिनुभयो ।
छिमेकीले समेत आगो लागेको ढिला मात्रै थाहा पाएको र प्रहरी तथा दमकललाई समेत ढिला मात्रै खबर पुगेको धनजनको सुरक्षा गर्न नसकेको प्रहरीको भनाई छ ।आगलागीबाट घरको सबै सामान जलेर नष्ट हुँदा २० लाख रुपैया भन्दा बढीको क्षति भएको छ ।स्रोत : उज्यालो नेटवर्क