बन्द नेपाल टेलिभिजन र एनटिभि प्लस को प्रसारण सुचारु
काठमाडौँ, ४ माघ । प्रसारण बन्द गरिएका टेलिभिजनको प्रसारणलाई तत्काल खोल्न सरकारले निर्देशन दिएलगत्तै नेपाल केवल टेलिभिजन महासंघले नेपाल टेलिभिजन र नेपाल टेलिभिजनकै अर्को च्यानल एनटिभि प्लसको प्रसारण सुचारु गरेका छन् । तर, आइतबारदेखि बन्द भएको इमेज च्यानलको प्रसारण भने अझै रोकिएको छ ।
सरकारले रोकिएका टेलिभिजन च्यानलहरूको प्रसारण तत्काल सुचारु गर्न केबुल प्रदायकहरूलाई बुधबार निर्देशन दिएको थियो । केबुल सञ्चालकहरूको एउटा समूहले आइतबार साँझबाट इमेज च्यानल तथा मंगलबारबाट सरकारी च्यानल नेपाल टेलिभिजन र एनटिभी प्लसको प्रसारण रोकेपछि मन्त्रालयले तत्काल प्रसारण सुचारु नगरे कडा कारबाहीको चेतावनी बुधबार दिएको थियो ।
सूचना तथा सञ्चार मन्त्रालयले बुधबार विज्ञप्ती जारी गरी उक्त निर्देशन दिएपछि महासंघ मन्त्रालयमा वार्ता गर्न गएको थियो । सञ्चार मन्त्रालय र महासंघबीच भएको वार्तापछि दुई सरकारी टेलिभिजनको प्रसारण खोल्ने सहमति भएको छ । सहमतिपछि नेपाल टेलिभिजन र एनटिभी प्लसको प्रसारण वितरण गर्न केवल अपरेटर राजी भएका हुन् ।
राष्ट्रिय प्रसारण नियमावलीको विरोधमा टेलिभिजनहरू बन्द गरिएको भन्दै महासंघले आन्दोलन सुरु गरेपछि बुधबार मन्त्रालयमा वार्ता भएको थियो । वार्तामा प्रसारण नियमावली छैठौँ संशोधनलाई आधार बनाएर सरकारले पनि कारबाही नगर्ने र महासंघले पनि आन्दोलन नगर्ने सहमति भएको सहभागी एक सदस्यले बताए । उनका अनुसार सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवसँग भएको छलफलमा माघ १२ गतेसम्म मात्र आन्दोलन स्थगित गर्ने सहमति भएको छ ।
मन्त्री यादवले आन्दोलनरत व्यवसायीका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि व्यवसायीले माघ १२ गतेसम्मका लागि आन्दोलन स्थगित गरेका हुन् । मन्त्री बाहिर जान परेकाले केही समय आन्दोलन स्थगित गर्न आग्रह गरकाले १२ गतेसम्म स्थगित गरेको केबुल टेलिभिजन संघर्ष समितिका संयोजक सुधिर पराजुलीले बताए । इमेज च्यानलको प्रसारणलाई निरन्तरता दिने बारेमा भने इमेज व्यवस्थापनसँग थप छलफल गरेर मात्र निर्माण गरिने संयोजक पराजुलीले जानकारी दिए ।स्रोत : सौर्य दैनिक