|

दिनभरको झडपले दैलेख सदरमुकाममा तनावग्रस्त, ५२ घाइते

दैलेख, ११ माघ । पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई बचाउन खोज्ने प्रधानमन्त्री बाबुराम भट्टराईलाई दैलेख प्रवेशमा निषेध गर्ने भन्दै प्रतिपक्षी दलहरूले आन्दोलन चर्किएपछि बुधबार दिनभर झडप भएको छ । प्रधानमन्त्रीलाई दैलेखमा निषेध गर्न ६ हजारभन्दा बढी प्रदर्शनकारी सडकमा उत्रिएका थिए ।

विरोध गर्न सभास्थल गएका प्रतिपक्षी र एमाओवादीका कार्यकर्ताबीच झडप हुँदा ५२ जना घाइते भएका छन् । प्रधानमन्त्रीलाई जसरी भए पनि कार्यक्रमस्थलसम्म आउन नदिन आफूहरूले कडा रूपमा उत्रनुपरेको एमालेका जिल्ला अध्यक्ष अमर थापाले बताए । सभास्थलतिर जान खोज्ने प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेका थिए ।

दिनभरको झडपले दैलेख सदरमुकाममा तनावग्रस्त भयो । काँडाचौरस्थित एमाओवादीको सम्मेलन भइरहेको सभामा सरकारका उपप्रधानमन्त्री तथा पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मञ्चमा बोल्न गएलगत्तै विपक्षी दलका नेता–कार्यकर्ताले कालो झन्डा देखाएका थिए । उनीहरूले ढुंगासमेत प्रहार गर्दै नारा–जुलुस गरेपछि सभामै दुई पक्षबीच झडप भएको थियो ।
एमाओवादीको सभा सञ्चालन भइरहँदा वरिपरि प्रहरी र प्रदर्शनकारीबीच झडप पनि भइरहेको थियो । रामपुर, गणेश चोक र काँडाचौर तथा आर्मी ब्यारेकनजिक प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । पहिलोपटक सभास्थलनजिकै गएका प्रतिपक्षी दलका कार्यकर्तालाई नेकपा–एमाओवादीका कार्यकर्ताले लखेटेका थिए । आन्दोलनकारीले प्रधानमन्त्री भट्टराईको शवयात्रासमेत गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन १० राउन्ड हवाई फायर र ३६ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।

एमाओवादीको कार्यक्रम सकिएलगत्तै दैलेखबजार तनावग्रस्त बन्न पुग्यो । आºना कार्यकर्ता घाइते भएको भन्दै माओवादी कार्यकर्ता देख्नेबित्तिकै प्रतिपक्षी दलका कार्यकर्ताले घेरेर आक्रमण गरे । यस क्रममा ७ जनाभन्दा बढी माओवादी कार्यकर्ता घाइते भएका छन् । एमाओवादीले आफूहरूमाथि निषेधको राजनीति गर्न खोजेको आरोप लगाएका छन् । डेकेन्द्र हत्याबारे न्यायालयले आदेश दिइसकेपछि आफूहरूले त्यसको पालना गर्ने सभामा प्रधानमन्त्री भट्टराईले बताए । आºनो पार्टीका सबै कार्यकर्ताको हत्यामा संलग्नहरूको पनि छानबिन हुनुपर्ने उनको भनाइ थियो ।
यसैबीच, आºनो पार्टीका कार्यकर्तालाई सभास्थलबाट छानीछानी आक्रमण गरेको भन्दै आक्रोशित भिडले एमाओवादीको पार्टी कार्यालयमा आगजनी गरेका छन् । आगजनीबाट ५ लाखभन्दा बढीको क्षति भएको अनुमान छ । आगजनीमा कम्प्युटर, टेबुल–कुर्सी र कागजपत्र नष्ट भएको छ । त्यस्तै, नेकपा–माओवादीको कार्यालयमा पनि आन्दोलनकारीले तोडफोड गरेका छन् ।

एमाओवादीको प्रथम जिल्ला सम्मेलनमा भाग लिन आएका कार्यकर्ताले तस्बिर लिइरहेका पत्रकारलाई डेकेन्द्रजस्तै हालत हुने धम्की दिएका थिए । प्रतिपक्षी र एमाओवादीका कार्यकर्ताबीच मुठभेड हुने अवस्था आएपछि तस्बिर लिन गएका पत्रकारमाथि माओवादी कार्यकर्ता खनिएका थिए ।

एमाओवादी कार्यकर्ताले पत्रकारलाई धम्की दिएलगत्तै दैलेखबाट प्रकाशन हुने ‘हाम्रो तेस्रो आँखा’ दैनिकको कार्यालयमा तोडफोड गरेका छन् । तोडफोडबाट कार्यालयको ढोका, झ्यालका सिसा फुटेका छन् भने कम्प्युटर, ल्यापटप, टेबुल–कुर्सीमा क्षति पुगेको छ । नेपाल पत्रकार महासंघले आक्रमणको भत्र्सना गरेको छ ।


स्रोत :सौर्य दैनिक

Posted by Butwalonline on 7:36 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दिनभरको झडपले दैलेख सदरमुकाममा तनावग्रस्त, ५२ घाइते"

Leave a reply