केटी लाई केटा बनाएर बिक्री गर्न खोज्ने पक्राउ
बुटवल, आश्विन २२- युवती लाई युवकको पहिरनमा ललाइफकाई सीमा कटाउँदै गर्दा नवलपरासीकी एक युवती लाई माइती नेपाल, रुपन्देहीले बेलहिया नाकाबाट उद्धार गरेको छ । कुनै कागजात र स्वीकृतिबिना कुवेत काम गर्न पठाउने भन्दै गैंडाकोट ७ की १८ वर्षे रुपा परियारलाई पुरुष बन्न लगाएर सीमा कटाउँदै गर्दा बिहीबार उद्धार गरिएको हो । गैंडाकोटबाट सामान्य पोसाकमा आएकी युवती लाई बेलहियामा ल्याएर सर्ट, पाइन्ट, टोपी र पुरुषले बोक्ने झोला बोकाएर कसैले सोधे 'केटा हुँ' भन्न लगाएर सीमा काट्न लगाएको पीडित युवती ले बताइन् । 'मुम्बई गएर प्लेन चढाएर कुबेत पठाइदिन्छौं भन्दै घरबाट ल्याएका हुन्,' उद्धारपछि युवती ले भनिन्, 'बाटोमा ल्याएर केटीमान्छेलाई सीमा कटाउन दिँदैन प्रहरीले समात्छ भनेर पोसाक फेरिदिए ।' केटाको पोशाकमा सीमा काट्दै गरेकी युवती लाई शंका लागेर माइती नेपालका सहजकर्ताले सोधपुछ गरेको प्रमुख प्रभा खनालले बताइन् । 'सुरुमा केटा हुँ भनेरै जिद्दी गरिन्, प्रहरीमा लगेर लामो परामर्शपछि मात्र केटी भएको थाहा भयो,' उनले भनिन् । कुवेत जान भनेर लगिएकी युवती को राहदानी तथा कुनै स्वीकृति पेपर नभएको माइती नेपालले जनाएको छ । बाबु दिनहुँ रक्सी खाएर हिँड्ने र आमालाई घरव्यवहार चलाउन गाह्रो भएपछि आमाको आग्रहमा कुवेत जान भनी हिँडेको रुपाले बताइन् ।
प्रहरीको सहयोगमा युवती लाई अवैध ओसारपसार गराउने एक युवकसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा चितवन, दिव्यनगर ७ की सुनिता विक र भरतपुर ११ का भुवन घले छन् । सुरुमा अभियुक्तले रुपालाई श्रीमती भएको र बिहे गरेर भारत घुमाउन लगेको तथा सुनिता साथी भएको बयान दिएका थिए । जिल्ला प्रहरी कार्यालयमा रहेका अभियुक्तले अहिले आफूहरु श्रीमान्-श्रीमती भएको प्रहरीसामु बयान दिएको महिला प्रहरी सेलका प्रमुख प्रहरी नायब निरीक्षक रामबहादुर खत्रीले बताए । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा वैदेसिक रोजगारीका नाममा अवैध ओसारपसार गराएर ठगीमा परेका ६ वटा उजुरी दर्ता भएका छन् ।
उता युवती लाई विवाह गर्ने र युवा भेटे विदेश पठाइदिने भन्दै ठगी गर्दै हिँडेका एक युवा पीडित तीन युवती सहित बुटवलबाट पक्राउ परेका छन् । बाग्लुङकी २३ वष[Lया एक जना तथा बुटवलका अन्य दुई युवती लाई विवाहको नाटक गरेर छुट्टाछुट्टै होटलमा राखी जापान लैजाने बहाना बनाइरहेका पर्वतका २४ वर्षीय मनबहादुर पुनलाई प्रहरी प्रधान कार्यालय काठमाडांैको सहयोगमा बुटवलमा प्रहरीले पक्राउ गरेको हो । पुनमाथि बागलुङ तथा पर्वतका विभिन्न व्यक्तिको ६० लाख ठगीको उजुरी पनि छ । उनको क्रियाकलापमा संलग्न दुई जना सहयोगी राजधानीबाट पनि पक्राउ परेका छन् ।
स्रोत :कांतिपुर
