डीआईजीद्वारा प्रहरी हवल्दारलाई दुई चड्कन
काठमाडौ, असार २७ - आफूलाई नचिनेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीकी डीआईजी पार्वती थापाले एक महिला प्रहरीलाई दुई चड्कन लगाएकी छन् । मंगलबार बिहान बुद्ध एयरको उडानबाट नेपालगन्ज जान लागेकी डीआईजी थापाले शरीर जाँच गर्ने क्रममा प्रहरी हवल्दार बिना दराईलाई चड्कन हानेकी हुन् ।
विमानस्थलमा बिहान बत्ती गएर एक्सरे मेसिन नचलेपछि सबै यात्रुका झोला प्रहरीहरूले 'चेक' गरेका थिए । त्यही क्रममा डीआईजी थापाले आफ्नो झोला र शरीर जाँच्ने क्रममा ती हवल्दारलाई पिटेकी हुन् । विमानस्थलका डीआईजी नारायण बस्ताकोटीले भने खास केही नभएको र प्रहरी हवल्दार दराईले पिटाइसमेत नखाएको दाबी गरे । 'सामान्य गाली गरेको होला, पिटेको नै चाहिँ होइन,' उनले भने, 'थापा यहाँबाट नेपालगन्ज गएकी हुन्, तर मलाई त्यस्तो केही जानकारी छैन ।'
डीआईजी थापासँग सम्पर्क गर्न खोज्दा उनले फोन उठाइनन् । म्यासेज पठाउँदासमेत प्रतिक्रिया व्यक्त गरिनन् । स्रोतका अनुसार डीआईजी थापाको पहिला सामान जाँच गरिएको थियो । त्यस क्रममा हवल्दार दराईले सामान्य नागरिकलाई झै व्यवहार गरेकी थिइन् । थापाले हातमा बोकेको झोला पनि चेक गरेकी थिइन् । 'सामान जाँचका क्रममा हवल्दारले बिना कुनै सम्मान जाँच गरेको र शरीर खानतलासीमा समेत त्यही व्यवहार दोहोर्याएपछि झापड हानेकी हुन्,' विमानस्थलमा कार्यरत एक वरिष्ठ प्रहरी अधिकृतले भने, 'रुखो व्यवहार गरेको भन्दै गालामा हिर्काइन् ।' डीआईजीलाई नचिने जसरी व्यवहार गरेको भन्दै आक्रोशित भएकी थिइन् । हवल्दारलाई झापड हानेपछि उनी झोला बोकेर विमानतर्फ लम्किएकी थिइन् । त्यसपछि हवल्दार दराई रुँदै शरीर खानतलासी कक्षबाट बाहिर निस्कँदा त्यहाँ लाइन लागेर बसेका यात्रुुहरू अचम्ममा परेका थिए । 'प्रहरीको पोसाक लगाएकी एक महिला रुँदै बाहिर आउँदा हामी त अचम्ममा पर्यौं,' त्यही उडानबाट नेपालगन्ज गएका एक व्यक्तिले भने, 'नेपालगन्ज आएपछि पो प्रहरीले प्रहरीलाई नै पिट्या रे भन्ने सुनेँ ।' दराई पिटाइ खाएपछि रुँदै ड्युटी इन्चार्ज भएको ठाउँमा पुगेकी थिइन् । उनले राम्ररी सुरक्षा जाँच गर्ने क्रममा आफू पिटिएको भन्दै गुनासो गरेकी थिइन् । 'लापरबाही गरेर जाँच गर्न भएन, राम्ररी गर्दा पिटाइ खाइयो भन्दै भक्कानो छाडेर रोइन्,' एक प्रहरी अधिकृतले भने, 'सार्वजानिक स्थलमा सादा पोसाकमा आएर चिनिनस् भन्दै पिट्नु गलत हो ।' ती अधिकृतले लाइनमा बस्न मन नभएको वा बिना जाँचै जानुपर्ने भए विशिष्ठ व्यक्ति जाने मार्गबाट डीआईजी थापा जान सक्ने बताए । '३ घन्टाभन्दा बढी समय बत्ती गएको थियो, झोलादेखि मान्छे सबै जाँच गर्नुपर्ने थियो, त्यस्तो स्थितिमा डीआईजी सा'बबाटै पिटाइ खाइन,' ती अधिकृतले भने, 'यस्तो स्थितिमा कुन मनोबल बोकेर हामीले काम गर्ने ?'
धेरै अधिकृतले डीआईजी थापाविरुद्ध प्रहरी मुख्यालयमा उजुरी गर्न सुझाव दिएका थिए । आफूहरूले प्रतिकार नगरेसम्म स्थिति नसुधि्रने भन्दै उजुरी दिन सुझाव दिएका थिए ।
समाचार कांतिपुर बाट
