काठमाडौंको जनजीवन सामान्य बन्दै, तराईमा बन्द यथावत
काठमाडौ, जेष्ठ १० - सरकारसंग ९ बुँदे सहमतिपछि आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आमहड्तालको कार्यक्रम फिर्ता लिएपछि बुधबारदेखि राजधानी काठमाडौंको जनजीवन सामान्य बन्दै गएको छ । बिहानदेखि सडकमा सवारी साधनको चाप देखिन थालेको छ । सर्वसाधारणले सहजता महशुश गरेका छन् ।
मंगलबार सरकार र सहमतिबीच जातीय पहिचान सहितको संघीयता,समानुपातिक र समावेशी निर्वाचन प्रणाली लगायतका विषयमा सहमति भएपछि बन्द फिर्ता भएको हो ।आदिवासी जनजाती महासंघले बन्द फिर्ता लिएपनि थारु संघर्ष समितिले भने तराईका जिल्लामा बन्द यथावत राखेको छ ।
थारु जातिका मागहरु सम्बोधन नभएकाले बन्द यथावत रहेको समितिका संयोजक तथा माओवादी सभासद् इन्द्रजित थारुले जानकारी दिएका छन् । बन्दका कारण तराइका २२ जिल्लाको जनजीवन प्रभावित भैरहेको छ । तराइका बासिन्दाले दुई सातादेखि बन्दको मार खेपिरहेका छन् ।
बन्द जारी रहँदा तराइको जनजीवन कष्टकर बन्दै गएको छ । बन्दका कारण यातायात, बजार, शिक्षण संस्था र कलकारखाना सञ्चालन हुन पाएका छैनन् । जिल्लाका मुख्य बजार र बिभिन्न चोक चोकमा थारु संघर्ष समितिका कार्यकर्ताहरु लाठी लिएर बसिरहेका छन् ।
समाचार कांतिपुर बाट
