हाई हिलवाला जुत्ता/चप्पलले खुट्टाको नङमा समस्या ल्याउने
काठमाडौ, चैत्र २२ - हाई हिलवाला जुत्ता/चप्पल खुट्टाका औंलाका नङमा हुने नोक्सानका प्रमुख कारण हुन् । यसअघि हाई हिलले शरीरलाई हानि पुर्याउने जानकारी थियो । पहिलेका अध्ययनहरूले हाई हिलको उपयोगले खुट्टा दुखाइको समस्या निम्तिने देखाएका थिए ।
दोयला विश्व विद्यालयका विज्ञहरूले गरेको र लाइभ साइन्समा प्रकाशित भएको नयाँ अध्ययनले खुट्टाका नङमा हुने नोक्सानको प्रमुख जिम्मेवार हाई हिल रहेको उल्लेख गरेको छ । हाई हिल लगाउँदा खुट्टाका नङ मांसपेशीभित्र पस्छन् । अनि नङमा धेरै बढी दबाब पर्छ । कहिलेकाहीं समस्यामा अत्यधिक वृद्घि हुँदा पूरै नङ हटाउने स्थिति समेत आउन सक्छ । मांसपेशीभित्र पसेका यस्ता नङ धेरै दुःख दिने हुन्छन् ।
अध्ययन अनुसार, यसले धेरै गम्भीर समस्या समेत उत्पन्न हुन सक्छ । यति मात्र नभई बेलैमा उपचार गरिएन भने त्यो नङलाई सधैंका लागि नोक्सान पुग्छ । अध्ययनकर्ताहरू भन्छन्, 'संक्रमणबाट बाँच्न खुट्टालाई मनतातो पानीमा चोब्नुपर्छ र राम्ररी सुकाएर एन्टिसेप्टिक लगाउनुपर्छ ।'
साभार :कान्तिपुर दैनिक

