|

चट्याङ पर्दा ३५ भन्दा बढी बेहोस गाउँमा कोलाहल र रुवाबासी

 चौतारा, चैत २४- मध्य सिन्धुपाल्चोकको फूल्पिङकोट-५ भण्डारी टोलमा गएराति हावाहुरी र झरीसँगै चट्याङ पर्दा स्थानीय ३५ भन्दा बढी गाउँले बेहोस भएका छन्। उनीहरुलाई स्वास्थ्य संस्थामा लैजाने र उपचारपछि घर फर्कने क्रम शुक्रबार बिहानसम्म चलिरहेको छ। उपचारपछि १५ जना होसमा आएका छन्।कतै चोटपटक नलागेपनि केहीको हातखुट्टा नचलेको स्थानीय ढकबहादुर भण्डारीले बताए।
स्थानीय तोकबहादुर बस्नेतका घरमा पर्ने गरी राति सात बजेतिर चट्याङ परेको थियो। चट्याङले उनको दुई तले घर बस्नै नहुने गरी क्षतिग्रस्त बनेको छ। घर नजिकको टहरामा खाना बनाइ रहेका उनकी पत्नी तारा र छोरी रीता अझै बेहोस छन्। चट्याङ लागेको घरमा कोही नभएकाले मानवीय क्षति भने हुन पाएन।
करिव दुई किलोमिटर क्षेत्रमा चट्याङको मुश्लो फैलिएको थियो । चट्याङ पर्दा गाउँले बेलुकाको खानाको तयारीमा जुटेका थिए। चट्याङको मुश्लोसँगै एकाएक बेहोस भएर ढल्न थालेपछि गाउँमा कोलाहल र रुवाबासी चलेको थियो। टोलका २० घरका कोही न कोही बेहोस भएको अर्का स्थानीय प्रेम भण्डारीले जानकारी दिए। महिला, बृद्धबृद्धा, केटाकेटी सबै उमेरका बेहोस भएका थिए।

'गाउँले रातभर सुत्न पाएका छैनन्। घाइतेलाई उपचारमा स्वास्थ्य संस्था लाने/ल्याउने चलिरहेको छ,' घाइते ओसारिरहेका तोकबहादुरले टेलिफोनमा भने। बेहोस भएकाहरुको स्थानीय उपस्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र जलविरेमा उपचार भएको छ। केही पशु चौपाय समेत मरेका छन्। घरमा क्षति पुगेको बारे अहिलेसम्म जानकारी आएको छैन। 
स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 7:42 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चट्याङ पर्दा ३५ भन्दा बढी बेहोस गाउँमा कोलाहल र रुवाबासी"

Leave a reply