मलेसियामा अवैध रुपमा रहेका १० हजार नेपालीलाई आममाफी
क्वालालम्पुर (मलेसिया) , वैशाख ५ -
यहाँ अवैध रुपमा रहेका करीब १० हजार नेपालीलाई मलेसिया सरकारले आममाफी दिएको छ । मलेसियाली गृहमन्त्रालयले एक पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
अवैध रुपमा रहेका विभिन्न आप्रवासी नागरिकहरुका लागि बैधता दिन एवं घर फर्काउन मलेसियाले गतबर्ष अक्टोबर २० देखी बैधता कार्यक्रम शुरु गरेको थियो । सोमबारसम्ममा १ लाख ३२ हजार ४ सय २४ अवैध आप्रवासीले आममाफी पाएका छन् । तीमध्ये करिब ९ हजार २ सय ७१ अवैध रुपमा यहाँ रहेका नेपालीले आममाफी पाएका हुन् ।
यहाँस्थित नेपाली दुतावासका अनुसार अवैध रुपमा रहेका करिब १२ हजार नेपालीले घर फर्कन यात्रा अनुमतिपत्र लिएका छन् । यसअघि गरिएको कामदार–दर्ता प्रक्रियामा अवैध रुपमा यहाँ रहेका करिब ३३ हजार र बैध रुपमा रहेका २ लाख २० हजार नेपाली सामेल भएका थिए ।
आममाफी कार्यक्रमअन्तर्गत मलेसियाले अवैध आप्रवासीलाई यहाँ काम गरी बस्न या घर फर्कन पाउनेसमेत गरी दोहोरो अवसर दिएको थियो । दुवैखाले अवसर दिइ ल्याइएको यहाँको पहिलो आममाफी कार्यक्रम हो । यसअघि बैध बन्न नमिल्ने तर घर फर्कनमात्रै पाउनेगरी त्यस्तो कार्यक्रम ल्याउने गरेको थियो ।
आममाफी अन्तर्गत महत्वपूर्ण कार्यक्रम मानिने बैधता कार्यक्रम ( सिक्स–पी) अवधिभर अवैध आप्रवासी नागरिकहरुलाई बिना–कानुनी कार्बाही आ–आफ्ना देश फर्कन पाउने अवसर दिइएको थियो ।
बैध बन्ने क्रममा मलेसियाले १० हजार नेपालीलाई निकै आकर्षक मानिने सुरक्षागार्डमा रोजगारी दिने निर्णय गरेको थियो । हाल सुरक्षा, उत्पादन, सेवा, कृषि लगायत विभिन्न क्षेत्रमा नेपालीले रोजगारी पाइरहेका छन् ।
आममाफी पाएर घर फर्कनेमा छिमेकी मुलुृक इण्डोनेसियाका नागरिकहरु सबैभन्दा धेरै रहेका छन् । ८२ हजार २ सय ५३ जना इण्डोनेसियाली आममाफी पाएर घर फर्कीएका जनाइएको छ । यो संख्या हालसम्म आममाफी पाउने आप्रवासी कामदारको कुल संख्याको ६० प्रतिशतभन्दा बढी हो । १० हजार ९१ भारतीय, ७ हजार ८ सय ५० बर्मेली, ५ हजार १ सय २१ कम्बोडियाली, ४ हजार ८ सय १६ बंगलादेशी र ३ हजार २ सय ४२ भियतनामीले आममाफी पाएका छन् । त्यसैगरी २ हजार ७ सय ७ पाकिस्तानी, २ हजार २ सय ४९ फिलीपिनी, एकजार ७ सय ५ श्रीलंकाली, एकहजार ४ सय ९२ चिनियाँ र अरु विभिन्न मुलुकका एक हजार ६ सय २७ जनाले आममाफी पाएर आ–आफ्ना देश फर्कीएका छन् ।
कृषिक्षेत्रमा कामदार अभाव
कृषिक्षेत्रमा कामदार अभाव भएपछि मलेसियाको यससम्बन्धी मन्त्रालयले हाल बैधता कार्यक्रमअन्तर्गत बैध भई काम गर्ने तयारीमा रहेका आप्रवासी कामदारलाई सो क्षेत्रमा रोजगारी दिनेबारे छलफल गर्ने भएको छ । सो क्षेत्रमा कामदारको अभाव पूर्ति गर्न बैधता कार्यक्रममा सामेल आप्रवासी कामदारलाई रोजगारी दिने सम्भावनाबारे छलफल गरिने जनाएको हो । यहाँको कृषिक्षेत्रमा करिब २ लाख आप्रवासी कामदार कार्यरत छन् तीमध्ये हजारौं नेपाली छन् ।
समाचार :कांतिपुर दैनिक बाट
