|

डिएसपीको माफी माग गर्दै कङ्ग्रेसको जिल्ला बन्द


टेकनारायण भट्टराई, पाल्पा, चैत २८- आफ्ना एक कार्यकर्तालाई डिएसपीले प्रहरी कार्यालयमा दुर्व्यवहार गरेको आरोप लगाउँदै त्यसका लागि माफी माग्नु पर्ने मागका साथ नेपाली कङ्ग्रेसले मंगलबार पाल्पा बन्द घोषणा गरेको छ।
डिएसपी मीरा चौधरीले कार्यकर्तालाई दुर्व्यवहार गरेकोमा गल्ती महसुस गर्दै सार्वजनिक माफी माग्नुपर्ने माग पार्टीको थियो। तर चौधरीले दुर्व्यवहार नगरेको भन्दै सार्वजनिक माफी माग्न इन्कार गरेपछि पार्टी बैठक गरेर विज्ञप्ति मार्फत बन्दको घोषणा गरेको हो।

साताअघि भएको एक दुर्घटनामा क्षतिपूर्तिको विषयलाई लिएर छलफल गर्न प्रहरी कार्यालय पुगेका तरुण दल सदस्य दीपक घिमिरेलाई आइतबार कार्यालय परिसरबाट डिएसपी चौधरीले घोँक्राएर दुर्व्यवहार गरेको आरोप छ। कङ्ग्रेस जिल्ला सभापति वीरबहादुर रानाले कार्यकर्तामाथि अपमान गरेर डिएसपीले शक्तिको दुरुपयोग गरेको बताए।
उनले वार्ताका क्रममा डिएसपी उल्टै आवेगमा आएको तर गल्ती नस्विकारेकोले प्रहरी ज्यादती विरुद्ध बन्द गर्नुपरेको बताए। डिएसपी चौधरीले भने कङ्ग्रेस कार्यकर्ता घिमिरे विवादमा उत्रेपछि कार्यालयबाट बाहिर निस्कन आग्रह मात्र गरेको बताएकी छन्।

डिएसपी चौधरीलाई सोमबार दिउँसो सिडियो कार्यालयमा आयोजित वार्तामा प्रमुख जिल्ला अधिकारी टिकाराम घिमिरे सहित २५ जना भन्दा बढि कङ्ग्रेस कार्यकर्ता र पत्रकार माझ माफी माग्न भनिएको थियो। आफूले गल्ती नगरेको भन्दै चौधरीले कुनै हालतमा माफी नमाग्ने बरु जागिर छाड्न तयार रहेको बताएपछि वार्ता बिना निश्कर्ष टुंगियो। प्रमुख जिल्ला अधिकारी घिमिरेले डिएसपीले माफी माग्नु पर्ने गरि जघन्य गल्ती नगरेको बताए।सामान्य विवादमा जिल्लाको प्रहरी प्रमुखलाई सार्वजनिक माफी माग्न लगाउनु जायज होइन।' उनले भने 'प्रहरी प्रमुखलाई माफी माग्न लगाएर सिंगो प्रहरी संगठनको मनोबल गिराउन खोज्नु दुःखद हो।' सभापति रानाले सोमबार बेलुका मशाल जुलुस गर्ने र मंगलबार पाल्पा ठप्प पार्ने जानकारी दिए। उनले भने 'प्रहरीको ज्यादतीले सिंगो पार्टीलाई धावा बोल्न खोजेको नियत प्रष्ट छ, हामी ज्यादती विरुद्ध लड्छौं।'
स्रोत :नागरिक न्यूज

Posted by Butwalonline on 5:24 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "डिएसपीको माफी माग गर्दै कङ्ग्रेसको जिल्ला बन्द"

Leave a reply