|

छिटै शान्ति स्थापना हुने पूर्व राजा ज्ञानेन्द्र

विराटनगर, फाल्गुन १८ ( पूर्व राजा ज्ञानेन्द्र साहले मुलुकमा छिटै शान्ति स्थापना हुने कुरा बताएका छन् । सुनसरीको भादगाउँ सिनुवारी गाविसस्थित झुम्का बजारमा बिहीबारदेखि सुरु भएको भविष्य महापुराणको उदघाटनका अवसरमा पूर्व राजा साहले बताए ।

डेढ घण्टा कार्यक्रम स्थलमा रहेका उनले कार्यक्रममा सम्बोधन नगरे पनि फर्किने बेलामा गाडी चढ्न लाग्दा सर्वसाधारणले मुलुकमा शान्ति कहिले आउँछ भन्ने प्रश्न गर्दा उनि छिटै मुलुकमा शान्ति आउने बताए । मुलुकमा छिटै शान्ति आउँछ भन्ने वाक्य भन्दै उनी सरासर गाडी चढेका थिए । ज्ञानेन्द्र दिउँसो १ बजे झुम्कास्थित कार्यक्रम स्थल पुगेका थिए ।

उनलाई स्थानीय सञ्चारकर्मीले केही बोलिदिनु पर्‍यो भन्दा आफूले पत्रकारहरूलाई डाकेरै कुरा राख्ने भन्दै पत्रकारहरूसित कुरा गर्न पन्छिएका थिए । कार्यक्रममा सप्तरीदेखि झापासम्मका पूर्व राजाका सर्मथक ओइरिएका थिए । कार्यक्रम स्थलमा पूर्व राजा पुग्दा उनका सर्मथकहरूले राजा, राजसस्था र राजतन्त्रका पक्षमा नारावाजी गर्दे राजनीतिक दलका नेताहरुका विरुद्धमा समेत नारावाजी गरेका थिए ।

पूर्व राजा ज्ञानेन्द्र शाहले दीप प्रज्जवलित गरी महापुराणको उदघाटन गरे । उदघाटनस्थलमा शाहीकालीन पूर्व मन्त्री बद्री मण्डलसहित राप्रपा नेपाल, राप्रपा लगायतका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । पूर्वराजालाई पुष्पगुच्छा दिनेको ओइरो लागेपछि कार्यक्रमस्थलमा केहीबेर भीड अव्यवस्थित भएको थियो ।

भीड व्यवस्थित गर्न सुरक्षाकर्मी र आयोजकलाई हाम्मै हाम्मै परेको थियो । राजा आउने कार्यक्रमलाई ध्यानमा राखी सुनसरीको इटहरी, झुम्का लगायतका क्षेत्रमा व्यापक मात्रामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो । यस अघि विराटनगर विमानस्थलबाट सुनसरी आउने क्रममा पूर्व राजालाई दुहबी, खनार र इटहरी लगायतका स्थानमा समर्थकले पुष्पगुच्छा दिँदै स्वागत गरेका थिए ।
स्रोतः कान्तिपुर

Posted by Journalist Mukti on 10:15 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "छिटै शान्ति स्थापना हुने पूर्व राजा ज्ञानेन्द्र"

Leave a reply