चट्याङले लागेर ३ को मृत्यु, १३ घाइते
गुल्मी, चैत्र १ - सिमसिमे पानीसँगै मंगलबार अपराह्न परेको चट्याङ लागेर स्थानीय बाझकटेरी २ का आठ वर्षीय प्रेम भुसालको मृत्यु भएको छ । हिमलाल भुसालका छोरा घरमै बसिरहेका बेला परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । अन्य दुई जना घाइते भएका छन् ।
यस्तै सिर्सेनी ७ को सातपोखरीमा मंगलबारै परेको चट्याङले १२ जना घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले तीमध्ये दुईको अवस्था गम्भीर रहेको बताए । भोजराज अर्यालको घरमा परेको चट्याङ लागेर स्थानीय तनाराम अर्याल घाइते भएका हुन् । उनको दुवै हात चल्न छोडेको छ । चट्याङले भोजराजको एउटा बाख्रा मर्नुका साथै घर चर्किएको छ । त्यस्तै माथिल्लो गाउँमा ५ जना बेहोस भएको उनले बताए । दिउँसोदेखि परेको सिमसिमे पानीका कारण चिसो पनि बढेको छ ।
यस्तै गुलरिया संवाददाताका अनुसार कालिका ९ कर्णालीपुरमा चट्याङ लागेर मंगलबार साँझ २८ वर्षीय अनिता रानाको मृत्यु भएको छ । इलाका प्रहरी मैनापोखरका निरीक्षक विकास भण्डारीका अनुसार गम्भीर घाइते रानालाई उपचारार्थ नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घर नजिकै बाख्रा चराएर फर्काउँदै गर्दा रानालाई चट्याङ लागेको थियो ।
त्यस्तै बाराको बरियारपुर ९ सेमरा तेगछियामा मंगलबार अपराह्न परेको चट्याङले एक किशोरीको मृत्यु भएको छ । प्रहरीका अनुसार चट्याङ लागेर स्थानीय रामदयाल पटेलको १४ वर्षीया छोरी मञ्जु कुमारीको मृत्यु भएको हो । घर नजिकैको बारीमा रहेका बेला चट्याङ खस्दा उनको मृत्यु भएको थियो ।
स्रोत :कांतिपुर