|

ट्याक्टर दुर्घटनामा ६ जनाको मृत्यु

गजेन्द्र बोहरा, दाङ माघ ११- दुलहीलाई आफ्नो घरमा पठाएर फर्किन थालेका एउटा चौधरी समुदायका ६ जनाको ट्याक्टर दुर्घटनामा मृत्यु भएको छ। मंगलबार साँझपख दाङको सदरमुकाम घोराहीबाट बालुवा लिएर गोग्लीस्थित सिमेन्ट कारखानातिर गइरहेको लु २ त २३७८ नम्बरको एउटा ट्याक्टर घोरही नजिकै भैसाहीमा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो।

प्रहरीका अनुसार मंगलवार राती आठ बजेतिर सिमेन्ट कारखानामा बालुवा लैजादै गरेको उक्त ट्याक्टरका चालक हडबडाएपछि ट्याक्टर सडकसँगैको नालामा खसेको थियो। विपरित दिशाबाट आउँदै गरेको यात्रुबाहक एउटा बसलाई देखेर खलखराएको ट्याक्टर नालामा गएको थियो। बसमा भने कुनै क्षति भएन।

बस र ट्याक्टरको पछिल्लो भागमा एकआपसमा ठोक्किएका थिए। दाङको उरहरी गाविस देवीपुरमा दुलहीलाई पठाएर फर्किदैं गरेको गोग्लीका ती चौधरी समुदायका परिवार घोराहीबाट फर्किनका लागि सार्वजनिक सवारी नपाएपछि बालुवा बोकेको उक्त ट्याक्टरमा चढेका थिए। ट्याक्टरमा चालकसहित १५ जनाजति गाउँलेहरु सवार थिए।

घटनास्थलमै ६ जनाको मृत्यु भएको छ भने ट्याक्टरमा सवार अन्य ९ जना सबै गम्भीर घाइते भएका छन्। घटनामा परेर एउटी नाबालिका र उनकी आमाकोसमेत मृत्यु भएको छ। प्रहरीका अनुसार लक्ष्मीपुर ३की आमा पवित्रा चौधरी र करिब ७ वर्षीया छोरी गंगा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा ट्याक्टर चालकको पनि मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा चालक लक्ष्मीपुर ६ भानपुरका २५ वर्षीय राजु चौधरी, लक्ष्मीपुर ४का दिपक चौधरी, घोराही नगरपालिका ४ बेलभारका शान्तराम चौधरीको मात्रै सनाखत गरेको छ। त्यस्तै लक्ष्मीपुर ३ कै मञ्जिता चौधरीको पनि घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुने आमा छोरी तथा मञ्जिताको नाम भने प्रहरीले पुष्टि गरेको छैन। गाउँलेहरुले उनीहरुको परिचय भनेका हुन्।

घटनामा परी लक्ष्मीपुर ३ की बिमला चौधरी, सोही गाउँका सुरज चौधरी, बिबेश चौधरी, बिन्तिराम चौधरी, ईश्वरी चौधरी, अभीम चौधरी, शोभन चौधरी, सुमित्रा चौधरी र शन्तराज चौधरीलाई घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा प्रारम्भीर उपचार गरेर मंगलवार साँझ नै नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ। मंगलवार साँझ ८ बजेतिर भएको दुर्घटनामा ट्याक्टरमा च्यापिएका मृतकको शव निकाल्न प्रहरीलाई करिब १ घण्टा लागेको थियो।
                                                                                                                                              स्रोत :नागरिक

Posted by Butwalonline on 5:42 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ट्याक्टर दुर्घटनामा ६ जनाको मृत्यु"

Leave a reply