संविधान लेखनमा अल्झिएका दुई प्रमुख विषयको विवादलाई टुंगो लगाउने सहमति
काठमाडौँ, कात्तिक १८- संविधान लेखनमा अल्झिएका दुई प्रमुख विषयको विवादलाई टुंगो लगाउने सहमति आज भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको विवाद समाधान उपसमितिको बैठकले राज्यपुनर्संरचना र शासकीय स्वरुप र निर्वाचन प्रणालीबारेको विवाद समाधान गर्ने बाटो खोलेको हो।
यसअघि शान्ति प्रक्रियाबारे सहमति नभएसम्म संविधान निर्माणलाई अघि बढ्न नदिने भन्दै कांग्रेसले विरोध गरेका कारण यो उपसमितिको बैठक बस्न सकेको थिएन। शान्ति प्रक्रिया टुङ्ग्याउन मंगलबार भएको सहमति भएसँगै आज बैठक बसेको हो।
बैठकले राज्य पुनर्संरचनाका लागि संविधान सभाबाट विशेषज्ञ समिति बनाएर त्यसको प्रतिवेदनका आधारमा राज्य पुनर्संरचना विवादको टुंगो लगाउने सहमति गरेको छ। संविधानमा राज्य पुनर्संरचनाका लागि आयोग बनाउने व्यवस्था रहेका कारण अब यो सहमति अनुसार जान संविधान संशोधनदेखि संविधान सभा नियमावली परिवर्तनसम्मका प्रक्रिया अब सुरु हुनेछन्। विज्ञेषज्ञ प्रतिवेदन कै आधारमा अब प्रान्तहरुको संख्या, नाम, सिमाङ्कन आदि निर्धारण हुनेछन्।
त्यसैगरी शासकीय स्वरुप र निर्वाचन प्रणालीको विवादमा पनि कार्यदल गठन गर्ने निर्णय आजको बैठकले गरेको छ। निर्वाचन प्रणालीमा संविधान सभा कै निर्वाचनमा जस्तो समानुपातिक र प्रत्यक्ष दुवै समेटिने मिश्रित प्रणाली अपनाउन प्रमुख दलहरुबीच अनौपचारिक सहमति भइसकेको छ। त्यसैगरी शासकीय स्वरुपमा पनि राष्ट्रपति र प्रधानमन्त्री दुवै रहने मोडल अपनाउने सहमति भइसके पनि कसलाई कति अधिकार दिने भन्नेमा केही विवाद रहेको छ।
उपसमितिका अध्यक्ष दाहाल भोलिदेखि सुरु हुने 'लुम्बिनी मिसन' मा अमेरिका उड्नुअघि यी सहमति भएका हुन्।
स्रोत :नागरिक न्युज