|

यात्रुवाहक सवारी साधनको छतमा सामान राख्न नपाइने

काठमाडौँ, कात्तिक ११- गृह मन्त्रालयले सवारी साधनको 'रुट परमिट' दिँदा र नवीकरण गर्दा साधनको यान्त्रिक परीक्षण गरेरमात्र दिने निर्णय गरेको छ। यही कात्तिक २ गतेको निर्णयअनुसार सडकको मर्मत सुधार विस्तार र सडकको 'मार्किङ' गर्ने कार्य पनि प्राथमिकताका साथ गरिनेछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनअनुसार काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न गृह मन्त्रालयले उक्त निर्णय गरेको हो।

सो निर्णयमा फुटपाथ पसल नियन्त्रण गर्ने र काठमाडौँ महानगरपालिकाले पार्किङको व्यवस्थापन गर्ने पनि रहेको छ।

यसैगरी, यात्रुवाहक सवारी साधनले व्यापारिक प्रयोजनका सामान नबोक्ने, सिट क्षमताभन्दा बढी यात्रु नबोक्ने र काठमाडौँ चक्रपथलाई पार्किङ निषेध गरिने पनि निर्णय भएको मन्त्रालयका सहायक प्रवक्ता एकमणि नेपालले बताए।

उनका अनुसार नयाँ सवारी साधन खरिद गर्नेले पार्किङस्थलको सुनिश्चितता देखाएपछि मात्र दर्ता गर्न पाउने गरी नीतिगत व्यवस्था गर्न श्रम तथा यातायात मन्त्रालयलाई अनुरोध गरिसकिएको छ।

यसका साथै सार्वजनिक यातायातका सवारी साधनमा छतमा क्यारियर राख्न नपाउने व्यवस्था गर्ने र हाल भइरहेकालाई निश्चित अवधि तोकी हटाउन निर्देशन दिन यातायात व्यवस्था विभागलाई अनुरोध गरिसकिएको मन्त्रालयले जनाएको छ। रासस
                                                                                                                        स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 7:37 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यात्रुवाहक सवारी साधनको छतमा सामान राख्न नपाइने"

Leave a reply