गहनाको लोभमा वृद्धाको हत्या
ललितपुर, श्रावण १ -
घर निर्माणमा आउने एक कामदारले गहनाका लागि घरमुलीको हत्या गरेका छन् ।
ललितपुर गोदामचौर दमैटारमा एक महिनाअघि भएको घटनामा संलग्नलाई प्रहरीले
पक्राउ गरेपछि यस्तो खुलेको हो ।
प्रहरीका अनुसार निर्माणमा गएका आइते तामाङले गहनाबारे सूचना दिएको
जानकारीका आधारमा उनका साथी चित्रबहादुर तामाङले ७३ वर्षे कुन्ती केसीको
हत्या गरेका हुन् । वैशाख २९ गते भएको हत्या घटनामा संलग्नलाई प्रहरीले
विमानस्थलबाट पक्राउ गरेको हो । नयाँ घर निर्माणका क्रममा कामदारले
वृद्धासँग गहना र सम्पत्ति रहेको थाहा पाएपछि हत्याको योजना बनाएको पुष्टि
भएको अनुसन्धानमा संलग्न प्रहरी सहायक निरीक्षक रमेश बजगाईंले बताए ।
'घटनालगत्तै केही कामदार गायब भएका थिए,' उनले भने, 'अनुसन्धानका क्रममा
ती कामदार नै हत्यामा संलग्न भएको भेटिएको छ ।' घटनामा संलग्न तीन जना
पक्राउपछि पुर्पक्षका क्रममा थुनामा छन् ।
घर निर्माणको ठेक्का लिएका उदयपुर तावाश्रीका आइतेले वृद्धाको गहना र
सम्पत्तिबारे छिमेकी चित्रबहादुरलाई थाहा दिएको प्रहरीको भनाइ छ ।
सम्पत्तिको सुइँको पाएपछि तामाङले एक्लै रहने दिउँसोको समयमा वृद्धाको
हत्या गरी भागेर भारत गएको प्रहरीले जनायो ।
प्रहरीले तामाङलाई अन्य ठेकेदार साथीमार्फत झिकाएर विमानस्थलमै पक्राउ
गरेको हो । पक्राउपछि तामाङकै बयानका आधारमा हत्यापछि गहना राख्ने
मानबहादुर थापा र सूचना दिने आइते तामाङलाई पक्राउ गरेको हो । थापा मोरङको
पथरी र आइते ललितपुरको गोदामचौरबाटै समातिएको प्रहरीले जनायो । १५ वर्षअघि
उदयपुरको तावाश्रीबाट आएर गोदामचौरमा बसोबास गरेका यी कामदारले घर
निर्माणका काममा मजदुरी गर्ने गरेको स्थानीयको भनाइ छ ।
घटनामा संलग्न चित्रबहादुरले मृतक वृद्धाको छोरा विदेशमा रहेको र साथमा
रहेकी बुहारी जागिरमा गएको मौकामा हत्या गरेको बयान दिएको प्रहरीले जनायो ।
नयाँ घर निर्माण सुरु भएपछि तीन जना नियमित काममा थिए । छुट्टै घरमा बस्ने
वृद्धाका छोरा गणेश खत्रीले घटनापछि आमाको साथमा रहेको साँचो लुटेर
बाकसबाट गहना लुटिएको बताए । 'आमालाई मात्रै बाकसको बारेमा थाहा थियो,'
उनले भने, 'सबै लुटिएको छ, अरू केही थाहा छैन ।'
अपराध अनुसन्धान शाखा ललितपुरका निरीक्षक भरत थापामगरले केही कामदारले काम
गरेको घरमै चोरी र लुटपाट गरेको घटना बारम्बार दोहोरिने गरेको बताए ।
'घरको भित्रसम्म पुग्ने हुनाले कहाँ के छ र कति सामान छ भन्ने थाहा हुन्छ,'
उनले भने, 'सबैलाई दोष लगाउन त मिल्दैन तर अधिकांश घटनामा यस्तै व्यक्तिको
संलग्नता भेटिएको छ ।' अव्यवस्थित ढंगले रहने र सजग नहुने व्यक्तिको
कमजोरीको फाइदा उठाई केहीले कामकै सिलसिलामा पनि सामान लुट्ने गरेको
प्रहरीको भनाइ छ । कतिपय ठाउँमा कामदार प्रत्यक्ष संलग्न नभए पनि चोरीका
लागि उपयुक्त घरको सूचना दिएर लुटेराबाट फाइदा लिने गरेको भेटिएको पनि
प्रहरीको भनाइ छ ।
Source:Kantipurnews