बजेटका क्रममा अवरोध पुर्याउने मोर्चाको तयारी
काठमाडौ, अषाढ ३० -
सरकारले बजेटमा मधेशलाई सम्बोधन नगरे संसदमा बजेट प्रस्तुतका क्रममा अवरोध
गर्ने तयारी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गर्दैछ । सरकारले हुलाकी
राजमार्ग लगायतमा बजेट छुट्याउने आश्वासन मोर्चालाई दिएको छ ।
यद्यपी मोर्चाले अघि सारेको सबै माग सम्बोधन गर्न पक्षमा सरकार देखिएको
छ्रैन । मोर्चामा रहेको सदभावनाका नेता लक्ष्मणलाल कर्णले सरकारले गरेको
कुरालाई सम्मान गर्ने बताए । उनले मधेशका शहीदसंग सरकारलाई वास्ता छैन, भने
आफूहरुलाई पनि सरकारसंग वास्ता नरहेको प्रतिक्रिया दिएका छन् । 'मधेशका
शहीदलाई सम्मान नगर्ने सरकारलाई हामीले पनि सम्मान गर्न सक्दैनौं', उनले
भने ।
मोर्चाको बैठक अपरान्ह १ बजे बोलाइएको छ । सरकारबाट सकारात्मक आश्वासन पाए
मोर्चाले अवरोधको कार्यक्रम रोक्ने सम्भावना छ । मोर्चाको केही माग
सम्बोधन गरिए अवरोध नगरेर बहिष्कार मात्र गरेर बिरोध गर्ने पनि मोर्चा
भित्र तयारी भएको स्रोतले जनाएको छ । लामो समयपछि नियमित समयमा आउन लागेको
बजेट रोक्न नहुने पक्षमा मोर्चाका केही नेताहरु छन् । मोर्चा स्रोतले अवरोध
नपुर्याएर विरोध मात्रैको कार्यक्रम पनि ल्याउन सकिने बताएको छ । सरकारको
रवैया अनुसार मोर्चाले रणनीति बनाउने एक नेताले बताए । संविधानसभो म्याद
थप्ने बेलामा निर्वाचनमा भाग नलिएर मोर्चाले बिरोध जनाएको थियो । यसपटक
बहिष्कार गरेर बिरोध जनाउन सक्ने पनि सम्भावना छ ती नेताले बताए ।
मोर्चाले अगामी वजेटमा पूर्व पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, मधेश
आन्दोलनका शहिदको सम्मान, मधेशमा अन्तर्राष्टिय विमानस्थल, विश्वविद्यालय
लगायतका लागि विशेष कार्यक्रम संगै मधेश केन्दि्रत कार्यक्रमहरुको मांग
गरेको छ । हरेक शहिदको जन्मथस्थान छेउछाउमा शहिदको नाउमा एउटा विद्यालय
निर्माण सरकारले गर्नु पर्ने र यस अन्तर्गत हरेक विद्यालय निर्माणको लागि
५० लाख अनुदान यसै वजेटवाट दिनु पर्ने समेत मोर्चाले जनाएको छ ।
अन्य प्रतिष्ठानसरह मधेस आन्दोलन राष्ट्रिय स्मृति प्रतिष्ठान गठन
हुनुपर्ने र मधेस आन्दोलनमा अंगभंग भएकाहरूका लागि राहतस्वरूप बजेटबाट २०
करोड रुपैया छुट्टयाउनुपर्ने मागसमेत मोर्चाको छ । मोर्चाले सरकारलाई
चुरिया संरक्षणलाई प्राथमिकता दिनु पर्ने र यो क्षेत्रको संरक्षणको लागि
विशेष संरक्षण योजना ल्याउनु पर्ने मांग गरेको छ । हुलाकी सडकलाई तीन
वर्षमा पूरा गर्नुपर्ने माग, पूर्व-पश्चिम रेलमार्गको निर्माणसमेत
यसैवर्षदेखि सुरु हुनुपर्ने मांग गर्दै मोर्चाले यो रेलमार्ग भने हुलाकी
सडक छेउ सगै जानुपर्नेसमेत उल्लेख गरेको छ ।
मधेसको पर्यटकीय क्षेत्र विस्तारअन्तर्गत लुम्बिनी, जनकपुर, विराटनगरमा
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनुपर्ने र निजगढमा भने
अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मागसमेत मोर्चाले अगाडि सारेको छ ।
कृषि सिचाइ, बीउ बिजनमा अनुदान र कृषिजन्य सामग्री र यन्त्रमा भन्सार छुट
हुनु पर्ने मागसमेत मोर्चाको छ । मोर्चाले जनकपुर, वीरगन्ज र नेपालगन्जमा
प्रस्तावित विश्वविद्यालय यसै वर्षदेखि सञ्चालन गरी रकम छुट्टयाउने लगायतका
माग समेत गरेको हो ।
source:kantipurnews