बेलायतको रेडिङका नेपाली लुटपाटको शिकार
लन्डन, अषाढ ३० -
फार्नवोरो, अल्डरसट क्षेत्रमा नेपालीमाथि सांघातिक आक्रमणका खबर बढिरहँदा
बेलायतस्थित रेडिङ सहरमा बस्ने नेपाली पनि बढ्दो लुटपाट र आक्रमणको शिकार
भएका छन् ।
हङकङबाट आएका एक भूपू लाहुरेको घरबाट दुई साताअघि ४० तोला सुन लुटियो । गत
आइतबार साँझ ६ बजे कामबाट फर्कने क्रममा प्रतिमा केसी एलेक्सजेन्डर रोडमा
लुटिइन्, लुटेराले उनको दुई तोलाको सुनको सिक्री लगिदिए ।
एक बिहान ६:३० बजे काममा जाँदै गर्दा सवीर गुरुङलाई अक्सफोर्ड रोडमा तीन
जनाले मरणासन्न हुने गरी पिटेर उनीसँग भएको बैंक कार्ड, मोबाइल फोन र अरू
सबै सामानसमेत लुटे ।
एक वृद्ध भूपू गोर्खाको साथमा रहेको १२ सय पाउन्ड लुटिँदा उनी हेरेको हेर्यै भए ।
असार २३ गते अपराह्न ४:४५ बजे किंग्स ब्रिज रोड ह्वाइटलीको एक घरमा
लुटेराहरूले 'बरो काउन्सिलबाट आएका कर्मचारी हुँ' भन्दै घरभित्र पसेर भएका
सबै रकम/सामान लुटिदिए । त्यसको भोलिपल्ट दिउँसो २:४५ मा पिटक्रोफ्ट
एभिन्युमा पानी जाँच गर्न आएको बहाना बनाई त्यस्तै लुटपाट गरियो ।
पुलिस कम्युनिटी सपोर्ट अफिसर ओमेन्द्र गुरुङका अनुसार यस्ता घटना कैयौं
भएका छन् तर प्रहरीले औपचारिक जानकारी पाइरहेको छैन । 'पानी, बिजुलीको मिटर
चेक गर्न आएको भनेर अपरिचित व्यक्ति आउँदा पनि नेपालीले घरमा प्रवेश दिएर
लुटपाटका घटना भएका पाइएको छ,' गुरुङले भने ।
रेडिङमै बस्ने सेन्टर फर नेपाल स्टडिजका निर्देशक डा. कृष्ण अधिकारीका
भनाइमा लुटपाटका घटनाबाट सबै समुदाय पीडित छ तर नेपालीको सोझोपन, भाषिक
समस्या र गुनासो गर्न हिच्किचाउने परिपाटीले उनीहरू नै बढी सिकार भएका छन् ।
'यसमा नेपालीमात्र लक्षित भए भन्न त मिल्दैन तर नेपाली समुदायमा यस्ता
घटना बढिरहेकाले सचेतना जगाउन आवश्यक भइसकेको छ,' उनले बताए ।
Source:kantipurnews