|

भिक्षुणी बलात्कार भएको बस नियन्त्रणमा लिएको विरोधमा यातायात बन्द

रोहित राई, धरान,असार ३१- भिक्षुणी बलात्कारको घटनामा धरान खाँदबारी रुटमा चल्ने यात्रुबाहक बसलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा विभिन्न यातायात व्यावसायी तथा मजदुर संगठनहरुले आज शुक्रबारदेखि धरानबाट चल्ने कोशी पहाडी रुटमा अनिश्चितकालीन यातायात बन्द गराएको छ। प्रहरी नियन्त्रणमा रहेको ना २ ख १३९५ नम्बरको बस तत्काल छाड्न माग गदै ती संगठनहरुले पहाडी रुटमा यातायात ठप्प बनाएको हो। विभिन्न १८ वटा यातायात व्यवासायी तथा मजदुर संगठनहरुको बन्द आह्वानले आज बिहानैदेखि धरानबाट पहाडी क्षेत्र धनकुटा, तेह्रथुम, संखुवासभालगायतमा चल्ने भाडा तथा सार्वजनिक यातायातका साधनहरु चलेका छैनन्। यातायात नचल्दा सर्वसाधारण यात्रुहरुले सास्ती पाएका छन्।

असार १० गते राति बसका मजदुर कर्मचारीहरुले भिक्षुणीलाई रातभर बलात्कार गरेको घटनालाई लिएर स्थानीयको दबाबमा प्रहरीले सो बसलाई नियन्त्रणमा लिएको थियो। बस नियन्त्रणमा लिएपछि विभिन्न संगठनहरुले असार ३० गतेसम्म छाड्न प्रशासनलाई अल्टिमेटम दिएको थियो।
सो अल्टिमेटमभित्र बस नछाडेपछि आज शुक्रबारदेखि पहाडी रुटमा चल्ने भाडा र सार्वजनिक सवारीका साधनहरु बन्दको आह्वान गरिएको पूर्वाञ्चल मोटर सिण्डिकेटका उपाध्यक्ष सरोज श्रेष्ठले जानकारी दिए। घटनाको बिषयमा बिहिबार इलाका प्रहरी कार्यालय चैनपुरमा छलफल भएपनि सहमति हुन नसकेपछि कोशी राजमार्गमा पहाडीरुटका
यातायात बन्द गर्न बाध्य भएको उनले बताए। तथापि, घटनामा संलग्न दोषीहरुलाई कारबाही हुनुपर्ने संघसंगठनहरुको धारणा स्पष्ट रहेको उनले खुलाए।
Source:nagariknews

Posted by Butwalonline on 8:01 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भिक्षुणी बलात्कार भएको बस नियन्त्रणमा लिएको विरोधमा यातायात बन्द"

Leave a reply