|

मुम्बईमा श्रृखलाबद्ध बम विस्फो,ट १७ को मृत्यु, ८१ घाइते


मुम्बई (एजेन्सीहरू), अषाढ ३० - भारतको व्यापारिक सहर मुम्बईमा बुधबार साँझ लगभग एकै समयमा तीन ठूला विस्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ८१ जना घाइते भएका छन् ।
मुम्बईको दादर, ओपेरा हाउस र जाभेरी बजार क्षेत्रमा साँझ ७ बजेपछि विस्फोट भएका हुन् । महाराष्ट्रका मुख्यमन्त्री पृथ्वीराज चव्हाणले 'योजनाबद्ध आतंकवादी आक्रमण' भएको बताएका छन् । भारतीय गृह मन्त्रालयले पनि यसलाई आतंकवादी आक्रमण भनेको छ ।
कामदारहरू घर र्फकंदै गरेका बेला मुम्बईको मध्य र दक्षिणी क्षेत्रका व्यस्त ठाउँमा घरेलु बम विस्फोट गराइएको प्रहरीले जनाएको छ । दक्षिणी मुम्बईको ओपेरा हाउस पर्यटन गन्तव्य हो । यो सन् २००८ मा १ सय ६६ जनाको ज्यान जाने गरी आक्रमण भएको ठाउँनजिकै पर्छ । दक्षिण क्षेत्रमा 'डाइमन्ड हब' भनिने जाभेरी बजारको गहना पसलमा अर्को विस्फोट भएको थियो । यहाँ बस स्टेसननजिक विस्फोट भएको प्रत्यक्षदर्शीले बताए । चहलपहल हुने बेला व्यस्त स्थानमा विस्फोट गराएकाले धेरैको हताहती गराउने उद्देश्य राखेको देखिन्छ । मुम्बई आक्रमणमा संलग्न एक मात्र जीवित मोहम्मद अज्मल अमिर कसाबको जन्म दिन पारेर विस्फोट गराइएको केही सञ्चारमाध्यमले जनाएका छन् ।
घटनाको जिम्मेवारी तत्काल कसैले लिएको छैन । 'विस्फोटको ठूलो आवाज आउँदा हामी कार्यालयमा थियौं, बाहिर अस्तव्यस्त थियो, जलेका ट्रकहरू देख्यौं, हामीले दुई-तीन शव निकाल्यौं,' एक प्रत्यक्षदर्शीले सञ्चारमाध्यमलाई भने । ओपेरा हाउसनजिकैको विस्फोट स्थलमा प्रहरीले लगत्तै घेरा हाली अनुसन्धानका लागि कुकुर पठाउनुका साथै एम्बुलेन्स र दमकलहरू तैनाथ गरेको थियो ।  मुम्बईस्थित शिव सेनाका नेता मनोहर जोशीले दोषी पत्ता लगाउन सरकारले तत्काल कदम चाल्नुपर्ने बताए ।
मुम्बई आक्रमणमा भारतले  पाकिस्तानी लस्कर-ए-तोइबा समूहलाई जिम्मेवार ठहर्‍याएको थियो । पाकिस्तानले विद्रोहीलाई आक्रमणका लागि सहयोग र तालिम दिएको भारतले आरोप लगाउँदै आएको छ । इस्लामावादले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ । भारतकै विद्रोही समूहले पनि केही वर्षदेखि ठूला सहरमा आक्रमण गर्दै आएको छ । बुधबारको आक्रमणपछि मुलुकभर सुरक्षा कडा पार्न गृह मन्त्रालयले निर्देशन दिएको छ । राजधानी नयाँदिल्ली, कोलकातालगायत थुप्रै सहरहरूमा उच्च सतर्कता अपनाइएको छ ।
 Source:kantipurnews

Posted by Butwalonline on 7:04 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मुम्बईमा श्रृखलाबद्ध बम विस्फो,ट १७ को मृत्यु, ८१ घाइते"

Leave a reply