वैद्य पक्षले लडाकु र हतियार फर्काएनन्
काठमाडौ, जेष्ठ २५ - माओवादी नेताको दोहोरो सुरक्षा हटाउने निर्णयमा फरक मत (नोट अफ डिसेन्ट) लेखेका वैद्य पक्षका नेताहरूले आफूसँग भएका लडाकुलाई तत्काल शिविर पठाउन अस्वीकार गरेका छन् ।
स्रोतका अनुसार उनीहरूले लडाकुलाई शिविर र्फकन हतार नगर्न भनेका छन् । 'हामीले के गर्ने भनेर सोध्यांै,' एक लडाकुले भने, 'अहिले हतार नगर्नुस् भन्नुभयो ।'
वैद्यसहित उनी पक्षका अरू चार नेताले हतियार र आफ्नो सुरक्षाका लडाकुहरू फिर्ता गरेका छैनन् । वैद्यको सुरक्षामा तीन लडाकु र दुई हतियार तथा उनी पक्षीय नेताहरू सीपी गजुरेलसँग एक हतियार र दुई लडाकु, नेत्रविक्रम चन्दसँग एक हतियार र दुई लडाकु, देव गुरुङसँग एक हतियार र एक लडाकु तथा हरिभक्त कँडेलसँग पनि एक हतियार र एक लडाकु छन् । अध्यक्ष दाहाललगायत अन्य नेताको सुरक्षामा रहेका ६६ लडाकु भने हतियारसहित चितवन शक्तिखोर शिविर लागेका छन् । उनीहरूलाई नेपाल प्रहरीको विशेष टोलीले सुरक्षा स्कर्टिङ गरी शक्तिखोर शिविर पुर्याएको थियो ।
Source:KantipurNews