झलनाथलाई कारवाही हुन्छः नेपाल
२६ वैशाख, काठमाडौँ । एमाले बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी निर्णय विपरित माओवादीलाई गृह मन्त्रालय दिने पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री झलनाथ खनाललाई कारवाही गर्ने चेतावनी दिनु भएको छ । पार्टी विवाद सुल्झाउने विषयमा ध्यानाकर्षण गराउन नेपालगञ्जबाट आएका कार्यकर्तासँग आज बिहान कोटेश्वरस्थित आफ्नै निवासमा भएको भेटमा नेपालले पार्टी निर्णय उल्लङ्घन गरेर अध्यक्ष खनालले अराजकता प्रदर्शन गरेको आरोप लगाउनु भयो ।पार्टीको आगामी केन्द्रीय समिति बैठकले खनाललाई गल्तीका विषयमा आत्मालोचना गराउन लगाउने वा अनुशासनको कारवाही गरिने जिकिर खनालको थियो । कार्यकर्ता भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले झलनाथ खनाल नेतृत्वको वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेकाले विकल्प खोज्न ढिला गर्न नहुने बताउनु भयो ।
माओवादी अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री बन्न नपाएको झोकमा खनाललाई अगाडि सारेर प्रधानमन्त्री बनाएको भन्दै नेता नेपालले पूर्वाग्रह राखेर बनेकाले सरकार असफल भएको ठोकुवा गर्नुभयो ।
Onlinekhabar