राम्रो आम्दानीको स्रोत बन्यो च्याउ खेती
किरणमान बज्राचार्य,कपिलवस्तु, ९ मंसिर-महाराजगंज गाबिस–२ की राजमति कुर्मीलाई च्याउ बिक्री गर्ने हतारो छ । च्याउ खेतीबाटै उनले ४ जनाको परिबार धानेकी छिन् । त्यस्तै निग्लिहबा गाबिस–९ श्रीनगरका मेघनाथ भूषालले पनि ५ जनाको परिबार चलाएका छन् ।
यसरी अहिले च्याउ खेतीलाई राम्रो आम्दानीको स्रोत बनाएका छन् । कम लगानी र थोरै मिहीनेतबाट बढी नाफा पाए पछि कृषकहरु अहिले च्याउ खेती तर्फ आर्कषित बनेका हुन् । २ बर्र्ष देखि सामान्य रुपमा गर्न थालिएको च्याउ खेतीले राम्रो आम्दानी दिएपछि कृषकहरु व्यवसायिक रुपले खेती गर्न थालेका हुन् ।
थोरै ठाउ र रसायनिक मल प्रयोग नगरी हुने खेतीबाट कृषकले राम्रो आय आर्जन गर्न थाले पछि व्यवसायिक रुपमा यसको खेती गर्न थालेका हुन् । तीन देखि चार हप्ता भित्र उत्पादन गरी बेच्न सकिने भएकाले कृषकहरु छिटो आम्दानी पाउने भएकाले पनि यस तर्फ आकर्षित भएका छन् । राम्रो बिउ भएको च्याउ १२ देखि १५ दिनका अन्तरालमा तीन चार पटक उत्पादन लिन सकिने हुदा कृषकले राम्रो फाईदा पाउने गरेको बताउछन् । बजारमा उनीहरुले प्रतिकिलो ढेड सय देखि २ सय ५० देखि तीन सय रुपैया सम्ममा विक्री गर्ने गरेका छन् ।
महाराजगंज २ की राजमति कुर्मीले यस बर्षको ४ महिनामा च्याउ खेतीबाट ३० हजार बढी कमाएको बताईन् । गएको बर्ष देखि मात्र च्याउ खेती शुरु गरेकी कुर्मीले कृषि कार्यालयबाट लिएको तालिम र ५० प्रतिशत अनुदानको बीउबाट उत्पादित च्याउको आम्दानीले आफूलाई निकै उत्साही बनाएको बताईन । कम लगानीबाट बढी आम्दानी पाईने, ठाउ पनि थारै लाग्ने र बेच्न पनि समस्या नहुदा, च्याउ तिर आकर्षित भएकी हु’ घरमा लगाएको च्याउ तर्फ देखाउदै उनले भनिन् । निग्लिहबा–९ श्रीनगरका मेघनाथ भूषालले पनि च्याउबाट ४ महिनामा ७० हजार बढी आम्दानी पाएको बताए ।
यहा अहिले १५ बढी कृषकहरु च्याउको ब्यवसायिक खेती गर्न लागेका छन् । तरकारी खेती भन्दा बढी आम्दानी हुने पछि च्याउको व्यवसायिक खेती तर्फ कृषक लागेको कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत बिष्णु काफ्ले बताए ।
घर कै सानो कोठामा खेर जाने पराल, छ्वाली, काठको धुलो, केराको पात, मकैको खोस्टोको सदुपयोग गरेर सानो लगानीबाट च्याउ खेती गर्न सकिने उनले बताए । उन्नत तरिका अपनाएर खेती गरिएमा १ केजी परालबाट आधा किलो सम्म तथा एक बोतल बीउबाट ५ सयग्राम देखि ५ केजी सम्म च्याउ उत्पादन हुने गरेको छ ।
यस बर्ष कार्यालयले सय भन्दा बढी कृषकहरुलाई तालिम, खेतीको स्थलगत अनुगमन र उनीहरुलाई प्राबिधिक सहयोग समेत गरिएको कृषि कार्यालयका प्रमुख खुर्सेदअहमद खाँले बताए । गत बर्ष ३ हजार बोतल अनुदानको च्याउका बीउ बितरण गरिएकोमा यस बर्ष ३ हजार ४ सय बोतल बीउ वितरण गरिएको उनले भने । यहा मुख्यगरि कन्ने र गोब्रे प्रजातिका च्याउ खेती गरिन्छ ।
उत्पदित च्याउलाई ताजै वा प्लाष्टिकमा प्याक गरी बिक्री गर्न सकिने तथा पकाएर, तरकारीसंग मिसाएर वा अचार बनाएर समेत खान सकिने भएकाले बजारमा यसको बढी माग हुने गरेको छ । साकाहारी मानिसले समेत खान सक्ने च्याउमा पौष्टिक तत्व अधिक मात्रामा पाईने र क्यान्सर, मुटु, कब्बजीयत रोगका लागि फाईदाजनक भएकाले च्याउ फाईदा हुने तरकारी भएको तौलिहवा अस्पतालका डा. अन्नत शर्माले बताए । यहा कपिलवस्तु नगरपालिका, दुबिया, महाराजगंज, पकडी, गोटिहवा, कोपवा, निग्लिहवा र गजेहडा लगायतका ठाउमा च्याउको ब्यवसायिक खेती थालेका छन् ।
