|

वैद्य पक्षलाई कारबाही जनताले गर्छ : माओवादी स्थायी समिति

काठमाडौँ, वैशाख १- एनेकपा (माओवादी)को बिहीबार बसेको स्थायी समितिको बैठकले शान्ति प्रक्रियाको सिलसिलामा माओवादी सेनाका लडाकु, हतियार र शिविर सरकार मातहत ल्याउने काम महत्वपूर्ण काम भएको ठहर गरेको छ। 
यसले संविधान लखेनको लागि वातावरण तयार गर्ने काम गरेको पनि निष्कर्ष निकालेको छ। "अब शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने र मुख्य गरी संविधान लेखनमा केन्द्रित हुनुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको छ," बैठकपछि माओवादी नेता एवम् अर्थमन्त्री वर्षमान पुनले पत्रकारलाई बताए।
बैठकले उपाध्यक्ष किरण वैद्य पक्षद्वारा गरिएको विरोधले शान्ति र संविधान लेखनको कामलाई कुनै फरक नपर्ने पनि निष्कर्ष निकालेको छ। वैद्य पक्षको विरोध राजनीतिक भिजन भन्दा पनि प्रतिक्रियाको राजनीति भएकोले परिपक्व र पुराना नेताहरूले प्रतिक्रियाको होइन कि जिम्मेवार राजनीति गर्नुपर्ने बैठकमा छलफल भएको बताइएको छ।
विरोध गर्ने पक्षलाई कार्वाहीको आवश्यकता नदेखिएको बरु सो पक्ष आफ्नै कामले जनताबाट तिरस्कृत, बहिस्कृत र कार्वाहीमा परिराखेको पनि नेता पुनले बताए। उद्दण्ड तरिकाले सबै विगतमा झैँ सीमा नाघेर विरोध कार्यक्रम भइराखेको भए पनि ती विरोधका कार्यक्रमलाई बिथोल्ने कुनै कारण नभएको बैठकमा छलफल भएको थियो।
"एउटा पार्टीभित्र बसेर आफ्नै अध्यक्ष, प्रधानमन्त्रीको पुत्ला जलाउने, कालो झण्डा देखाउने, बन्द, चक्काजमा गर्दै हिँड्ने कुन कुरा राजनैतिक नैतिकताभित्र पर्छ उहाँहरू आफैँले सोच्ने कुरा हो, कसले संयमता अपनाएको र सीमा मिचेको छ," नेता पुनले भने।
बैठकमा गत मङ्गलबार माआवादी सेनाका लडाकुहरूलाई नेपाली सेना मातहत ल्याउने कामको बारेमा समीक्षा भएको स्थायी समिति सदस्य कृष्णबहादुर महराले बताए।
बैठकमा माओवादी सेनाका लडाकु, शिविर, हतियार नेपाली सेना मातहत ल्याउने कामको आवश्यकता, औचित्य र सन्दर्भबारे अध्यक्ष पुष्पकमल दाहालले जानकारी गराए।
समायोजनका सन्दर्भमा बाँकी रहेको महानिर्देशनालय गठन, तालिम, दर्जा र छनौटलगायतका बारेमा कार्यदलले गरको कामबारे विशेष समिति सदस्यसमेत रहेका अर्थमन्त्री वर्षमान पुनले जानकारी गराए। प्रधानमन्त्री एवम् पाटी उपाध्यक्ष बावुराम भट्टराईले शान्ति प्रक्रियामा भएको प्रगतिबारे जानकारी गराए।
सेना समायोजनका सन्दर्भमा बाँकी रहेका कामलाई उपयुक्त निकास दिन प्रतिवेदन दिन गठित कार्यदलको काम पनि सकिएको र भोलि बेलुका वा पर्सिसम्म राजनीतिक दलका नेताहरूको बैठक बसेर त्यसपछि विशेष समितिको बैठक बसेर टुङ्गिन बाँकी रहेका काम टुङ्ग्याउने समझदारी बैठकले गरेको थियो। रासस
स्रोत :नागरिक न्यूज 

Posted by Butwalonline on 1:30 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "वैद्य पक्षलाई कारबाही जनताले गर्छ : माओवादी स्थायी समिति"

Leave a reply