अकुपाइ बालुवाटारमा माओवादीको हस्तक्षेप
काठमाडौं, चैत्र ४ । सर्वोच्च अदालतले व्यक्ति हत्यामा दोषी प्रमाणित गरेका माओवादीका पूर्व सभासद् बालकृष्ण ढुंगेललाई कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शनमा रहेका अधिकारवादीमाथि माओवादीले हस्तक्षेप गरेको छ । महिला हिंसाको विरोधमा सुरु भएको अकुपाइ बालुवाटार अभियानअन्तर्गत केही दिनदेखि ढुंगेललाई कार्वाही गर्न भइरहेको प्रदर्शनमा माओवादीले हस्तक्षेप गरेको हो । उनीहरुले महिला हिंसाविरुद्धका पर्चा, पोस्टरिङ, ब्यानर च्यात्नुका साथै जलाएका छन् । पूर्व सभासद् देवी खड्का नेतृत्वमा ३०÷३५ जना अकुपाइ बालुवाटारका अभियन्ता बालुवाटार पुग्नुअघि नै उक्त स्थानमा पुगी कब्जा जमाएका थिए । उनीहरुले हत्यारा प्रमाणित गरिएका ढुंगेलको समर्थनमा नाराबाजी पनि गरे । ढुंगेल ओखलढुंगाका उज्जेन श्रेष्ठ हत्याका मूख्य आरोपी रहेको भन्दै अदालतले यसअघि नै किटानी फैसला गरेपनि माओवादी नेतृत्वको सरकारले फैसला कार्यान्वयन नगरी उन्मुक्ति दिँदै आएको थियो ।
अकुपाइ बालुवाटार अभियान केही महिनाअघिदेखि हरेक बिहान केही घण्टा प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्नाका साथ जारी थियो । प्रधान न्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकार बनेपछि सर्वोच्चबाट हत्या अभियोग ठहर भएका ढुंगेलमाथिको फैसला कार्यान्वयन गरिनुपर्ने माग अभियन्ताहरुले गर्दै आएका छन् ।स्रोत : ईमेज च्यानल