मलेसियामा एक सय नेपाली श्रमिक पक्राउ
क्वालालम्पुर चैत ४ - मलेसियाको मुआरमा करिव एक सय नेपाली श्रमिक पक्राउ परेका छन् । साप्ताहिक आइतबारे बिदाको दिन कम्पनीबाट बाहिर निस्किएर साथीहरुसँग भेटघाट गरिरहेका बेला स्थानीय प्रहरीले उनीहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।मलेसियाको दैनिक पत्रिका द स्टारको अनलाइन संस्करणका अनुसार न्यूनतम तलव नपाएको बिरोधमा प्रर्दशन गर्ने तयारी गरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो ।
मुआरका सहायक प्रहरी कमाण्डर मोहम्मद नासिर राम्लीले भने- ‘कामदारहरु रोजगारदाताविरुद्ध प्रर्दशनको तयारी गर्न बिभिन्न स्थानमा भेला भएका थिए, उनीहरु एकै ठाउँमा जम्मा हुनुअघि नै सूचनाका आधारमा हामीले समातेका हौं ।’ मुआर क्षेत्रमै करिव ५ हजार नेपाली कामदार कार्यरत रहेको भन्दै उनले मलेसियामा सार्वजनिक स्थानमा जुलुस निकाल्नु गैरकानुनी रहेकाले पक्राउ गरिएको दाबी गरे ।तर, मुआरमा रहेका नेपालीहरु भने प्रर्दशनको कुनै तयारी नभएको बताउँछन् ।साप्ताहिक बिदाको दिन नेपाली रेष्टुरेण्टमा गएर साथीहरुसँग भेटघाट गर्ने क्रममा पुलिसले पक्रिएको हो, बाहिर गएर प्रर्दशन गर्ने कुनै योजना थिएन ।’ बिभिन्न कम्पनीमा कार्यरत उनीहरुमध्ये केहीलाई साँझ छाडिएको छ भने केही अझै प्रहरी नियन्त्रणमै छन् । अघिल्लो साता पनि मलेसियन प्रहरीले एउटा फर्निचर कम्पनीबाट ३२ जना नेपाली कामदारलाई पक्राउ गरेको थियो ।
मलेसिया सरकारले जनवरी १ देखि नै लागू हुने गरी मासिक ९ सय रिंगेट न्यूनतम तलव दिनुपर्ने नयाँ नियम ल्याएपछि त्यहाँ कामदार र रोजगारदातावीच विवाद बढ्न थालेको छ । । नीतिगतरुपमै बिभिन्न छिद्रहरु खडा गरिदिएर रोजगारदातालाई न्यूनतम तलव कार्यान्वयन नगर्न मलेसियन सरकारले कम्पनीहरुलाई बाटो खोलिदिएपछि त्यहाँ कार्यरत बिदेशी श्रमिक आक्रोशित भएका छन् । सरकारको दोधारे नीतिका कारण तलव बढ्नुको साटो खाइपाई आएको भन्दा घट्न थालेपछि बिभिन्न कम्पनीमा कार्यरत कामदार आन्दोलित भएका हुन् ।स्रोत : अनलाइनखबर