क्यान्सरबाट पीडित डा.चित्रप्रसाद शर्माको उपचारको लागि आर्थिक सहयोग
अर्घाखाँची, कार्तिक २८ - क्यान्सरबाट पीडित भएका डा.चित्रप्रसाद शर्मा वाग्लेको उपचारको लागि आर्थिक सहयोग जुटनेक्रम जारी रहेको छ । सन्धिखर्कको लुम्बिनी स्वास्थ्य सेवा सहकारी लि.-लुहेस्को) ले १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
डा.वाग्लेको बारेमा २१ गतेको कान्तिपुरको पहिलो पृष्ठमा 'अरुलाई बचाउने डाक्टरले नै उपचार पाएनन्' भन्ने शिर्षकमा समाचार प्रकाशित भएपछि उपचारको लागि आर्थिक सहयोग जुटिरहेको छ । वाग्लेको बैंक खातामा १ लाख ५५ हजार रुपैयाँ संकलन भैसकेको छ । २५ वर्ष दुर्गम जिल्लामा रहेर स्वास्थ्य सेवा गरेका उनी १२ वर्ष अर्घाखाँची जिल्ला अस्पतालमा प्रमुख रहेर सेवा गरेका पश्चिमाञ्चलकै उत्कृष्ठ डाक्टर वाग्ले विदा लिएर विश्व स्वास्थ्य संगठनको छात्रवृद्धिमा एमपीएच अध्ययनका लागि थाईल्यानड पुगेका बेला क्यान्सर पत्ता लागेको थियो । पाँच महिना देखि भारतको नयाँ दिल्ली स्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराईरहेको उनलाई उपचार खर्च अभाव भएको छ । काठमाडौमै खर्च जुटाउन मन्त्रालय धाईरहेका वाग्लेलाई उपचार खर्च संकलन गर्न अर्घाखाँचीमा डाक्टर चित्रप्रसाद शर्मा वाग्ले उपचार सहयोग समिति गठन भएको छ । समितिले पत्रकार सम्मेलन गरी वाग्लेलाई बचाउन अभियान सञ्चालन गर्ने जनाएको छ ।
संयोजक तिलक मिश्रले १२ वर्ष जिल्लामा बसेर धेरै विरामीलाई मृत्युको मुखबाट बचाएको र जिल्लामा सामाजिक क्षेत्रमा समेत धेरै योगदान रहेकाले बचाउन समिति गठन गरी स्वेच्छिक रुपमा आर्थिक संकलन गरिने बताए । १५ सदस्यीय समितिमा स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्तिहरु रहेका छन । देश तथा विदेशका अन्य क्षेत्रबाट पनि सहयोग जुटनेक्रम जारी रहेको छ । सरकारी सहयोगको लागि दुई साता देखि वाग्ले मन्त्रालयमा धाईरहेका छन ।
समाचार प्रकाशित भएपछि केही दिन अघि प्रधानमन्त्री डा.बाबुराम भट्टराईले टेलिफोन गरी सोधपुछ गरेको र मन्त्री परिषदको बैठकको निर्णयबाट सक्दो आर्थिक सहयोग गर्ने आश्वासन दिएको वाग्लेले टेलिफोनमा बताए । उनले सरकारका मुख्य सचिवले आफना सबै फाईलहरु लगिसकेको र मन्त्री परिषदको निर्णयबाट आर्थिक सहयोग हुनेमा वाग्ले विश्वस्त रहेका छन । सहयोग जुटाईसकेपछि तिहारपछि अप्रेशन गर्न भारत जाने बताए ।
उनले शान्ति मन्त्री टोपबहादुर रायमाझी मार्फत सरकारलाई सहयोग गरी जीवन बचाईदिन आग्रह गरेको पनि बताए ।
स्रोत :कांतिपुर