पूर्वलडाकुको बन्द आह्वानले विभिन्न स्थान प्रभावित
फागुन २२ राससका अनुसार बर्हिगमित एनेकपा (माओवादी)का लडाकुले आफ्ना मागलाई सरकारले बेवास्ता गरेको भन्दै आजदेखि आह्वान गरेको अनिश्चितकालीन नेपाल बन्दले मुलुकका विभिन्न क्षेत्र प्रभावित भएका छन्। बन्दका कारण बुटवलमा बिहानैदेखि सार्वजनिक सवारीसाधन पूर्णरुपले बन्द छन् भने निजी सवारी फाट्टफुट्ट चलेका छन्।
बहिर्गमित लडाकु केन्द्रीय सङ्घर्ष समितिका प्रतिनिधिसँग गत पुस २१ गते शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा वार्ता हुँदा एक हप्ताभित्र माग पुरा हुने सहमति भए पनि आफ्ना मागप्रति कुनै सुनुवाइ नभएको भन्दै अनिश्चितकालीन बन्द लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताएको छ।
यस्तै, बजार, उद्योग, कलकारखाना, शैक्षिक संस्थामा बन्दको प्रभाव आंशिक परेको छ। बन्दमा कुनै अप्रिय घटना हुन नदिन यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।
लडाकुले सरकारले आफ्ना मागका बारेमा मन्त्रिपरिषद्बाटै ठोस निर्णय नगरेसम्म अगामी दिनमा वार्ता अस्वीकार गर्ने तथा अनिश्चितकालीन बन्दका क्रममा सरकारले आफ्ना मागप्रति गम्भीर भई सम्बोधन गर्नाको सट्टा दमन गर्ने नीति अख्तियार गरेमा पूर्णरुपमा भूमिगत भई त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन्।
हेटौँडा-पूर्व लडाकु समूहले शिविरमा रहेकाहरुसरह आफूहरुलाई पनि आर्थिक प्याकेज माग गरी बन्द आह्वान गरेका छन्।
बन्दका कारण हेटौँडाबाट चल्ने लामो र छोटो दूरीका यातायात चलेका छैनन् भने स्थानीय बजार बन्द छ। त्यस्तै शिक्षणसंस्था र औद्योगिक क्षेत्र र अन्य सङ्घसंस्था बन्द भई जनजीवन प्रभावित भएको छ।