|

राजधानीमा 'पेन गन'


काठमाडौ, अषाढ १८ - सुरक्षाका लागि शरीर तलासी लिँदा प्रहरीले छाती सर्च गर्दैन । मेटल डिटेक्टर प्रयोग गर्दा पनि सर्टको खल्तीमा रहेको कलमतिर कमै आँखा पुर्‍याउँछ । तर शुक्रबार राजधानीमा पहिलोपल्ट 'पेन गन' सहित दुई युवक पक्राउ परे, जसले शरीर तलासी लिँदा अब सर्टको खल्तीमा रहेको कलमतिर ध्यान दिन सचेत गराएको छ ।
काठमाडौं प्रहरीले एउटा पेस्तोल र एउटा पेन गनसहित ललितपुर गोटीखेलका सुवास तिम्सिना र विजय श्रेष्ठलाई पक्राउ गरेको हो । बा३०प ७११६ नम्बरको मोटरसाइकलमा
आएका उनीहरूको साथबाट प्रहरी प्रभाग स्वयम्भूले तलासी लिँदा 'मेड इन बुल्गेरिया' लेखेको अटोमेटिक पेस्तोल, ९ राउन्ड गोली र म्यागजिन बरामद
गरेको हो ।
उनीहरूलाई हनुमानढोका बुझाएपछि विशेष टोलीले बाफलस्थित कोठामा छापा मार्दा पेन गन, त्यसमा प्रयोग हुने ५ राउन्ड गोली र पेस्तोलको ३ राउन्ड गोली पनि बरामद भयो । कोठामा रहेकै दराजभित्र करुवामा रातो कपडाले बेरेर राखेको पेन गन फेला परेको प्रहरीले जनाएको छ । 'के हो भनेर सोध्दा पेन गन बताएपछि लिएर आयौं,' एक प्रहरीले भने, 'मोनामी डटपेनको आकारमा छ ।' 
लुकाउन सजिलो हुने भएकाले अपराधीले यस्तो हतियार रोजेको हुन सक्ने प्रहरीको अनुमान छ । 'यस्तो प्रकारको हतियार बोकेर जुनसुकै संवेदनशील स्थानमा पनि जान सक्छ, कोटको खल्तीमा राखेर गयो भने थाहा पाउने सम्भावना कम हुन्छ,' ती अधिकृतले भने, 'हलिउड, बलिउड चलचित्रमा देखिने हतियार आफ्नै अगाडि पर्दा म छक्क परेँ ।'
यस्तो हतियार फेला परेको यो पहिलो भएको काठमाडौं परिसरका एसपी केदार रिजालले बताए । 'हतियार देख्दा अचम्ममा पर्‍यौं, अब त्यहि अनुसारको सुरक्षा बढाउन प्रहरीलाई चुनौती थपिएको छ' उनले भने 'अब सुरक्षालाई त्यसै अनुसार केन्दि्रत गराउँछौं ।'
पक्राउ परेका उनीहरूले दुई महिनाअघि गणबहालमा व्यापारी अञ्जनीकुमार चाचनमाथि गोली हान्न हतियार उपलब्ध गराउने विजयन्त शर्माले राख्न दिएको बताएको स्रोतको दाबी छ । विजयन्त प्रहरी नियन्त्रणमा छन् । 'हतियार राखिदेऊ भनेकाले राखिएको हो भनेका छन्', एक अधिकृतले भने, 'यसको पछाडि गिरोह सक्रिय छ, त्यसतर्फ अनुसन्धान केन्दि्रत हुन्छ ।'
प्रहरीका अनुसार पक्राउ परेका २२ वर्षीय सुवास २०६२ सालमा चोरी र लागूऔषधको मुद्दामा १४ महिना केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरेका कैदी हुन् ।


स्रोत: कान्तिपु

Posted by Butwalonline on 7:12 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राजधानीमा 'पेन गन'"

Leave a reply